बालबालिका खोज तलास केन्द्र प्रदेश कार्यालय सञ्चालनका लागि समाजले गरे सामग्री वितरण

जनकपुरधाम, माघ २६ ।

भदौ महिनामा भएको आन्दोलनका क्रममा विभिन्न सरकारी निकायमा आगजनी र क्षति पुगेको थियो। यस क्रममा हिंसा, दुरव्यवहार र विशेष गरी वेपत्ता बालबालिकाको खोजतलासका लागि रहेको जनकपुरको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। बन्द रहेको यस कार्यालयलाई पुनः सुचारु गर्न आवश्यक देखिएपछि जानकी महिला जागरण समाज, धनुषाले कम्प्युटर सेट, प्रिन्टर, फोटोकपी मेसिन लगायत करिब १ लाख रुपैयाँ मूल्य बराबरका सामग्रीहरू वितरण गरेको छ।
यस अवसरमा बोल्दै जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दा कर्णले बताए, “सशक्त बालिका परियोजनाले बालबालिकाको कल्याण र संरक्षणलाई आफ्नो मुख्य लक्ष्यमा राखेको छ। भदौ २३ र २४ गतेका आन्दोलनका कारण हिंसामा परेका र पीडित बालबालिकाहरूलाई पनि यस किसिमको सहयोग उपलब्ध गराइएको छ।”
प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित सशक्त बालिका परियोजना (GSS) धनुषाको पाँचवटा पालिकामा कार्यरत छ – सबैला, शहिदनगर, कमला, विदेह र जनकनन्दनी। परियोजना विशेषगरी सबैला नगरपालिकामा प्रारम्भिक बाल विकासका गतिविधिहरूमा केन्द्रित छ भने बालिका संरक्षणका कार्यक्रमहरू सबैला र शहिदनगरमा सञ्चालन भइरहेका छन्। परियोजनाको मुख्य उद्देश्य समुदायमा रहेका हानिकारक चलनहरू, जस्तै बाल विवाह, न्यूनिकरण गर्नु हो।
बाल अधिकार परिषद प्रदेश समन्वय अधिकृत संजिव महतोले सामग्री हस्तान्तरणमा धन्यवाद व्यक्त गर्दै सबै सरोकारवालाहरू र प्रदेश मन्त्रालयको सहयोगमा चाँडोभन्दा चाँडो केन्द्र सञ्चालनका लागि पहल भइरहेको जानकारी दिनुभयो। महिला बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालय, मधेश प्रदेशकी अधिकृत निर्मला शर्माले पनि केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न ढिलाइ भए पनि सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो।
हस्तान्तरण कार्यक्रममा केन्द्रमा कार्यरत कर्मचारीहरू र परियोजनामा आवद्ध कर्मचारीहरू उपस्थित थिए। यस कदमले केन्द्रलाई पुनः सुचारु रूपमा सञ्चालन गर्न मात्र नभई बालबालिका संरक्षणका कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढाउन महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *