जनकपुरधाम, २९ फागुन । धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ अन्दाजी २५ वर्षीया एक युवतीको शव फेला परेको छ। २३ माघको बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार युवतीको बायाँ कञ्चटमाथि गोली लागेको निशान भेटिएको छ। बायाँ भागबाट छेडेर गोली दायाँतर्फबाट निस्किएको देखिएकाले गोली प्रहार गरी हत्या गरिएको आशंका गरिएको छ।
घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरे पनि मृतक युवतीको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाको कारण र संलग्न व्यक्तिको बारेमा पनि कुनै ठोस जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी गणेश बमका अनुसार कालो वर्णकी, करिब ५ फिट ४ इन्च उचाइ भएकी ती युवतीले निलो सुरुवाल, सेतो स्वेटर र खुट्टामा चप्पल लगाएकी थिइन्। उनको स्वेटरको एउटा खल्तीमा बच्चाले खेल्ने सानो खेलौना र अर्को खल्तीमा नेपाली दैनिक पत्रिकाको कागजमा बेरिएको सिन्दूर भेटिएको प्रहरीले जनाएको छ।
यसका साथै खल्तीमा पाँच सयभन्दा केही बढी भारतीय रुपैयाँ पनि फेला परेको थियो। घटनास्थलबाट करिब २० मिटर टाढा तीन मुठा रायोको साग पनि भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले बताएका छन्।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइरहेको जनाएको छ। मृतक युवतीको पहिचान खुलाउन तथा घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्न विभिन्न कोणबाट अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।