वीरगञ्जको नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण सुरु


वीरगञ्ज, २९ फागुन ।

पर्साको वीरगञ्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको रंगशालाको पुरानो संरचना हटाएर नयाँ निर्माण गर्ने प्रक्रिया आजदेखि सुरु गरिएको हो।
पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार कानुका अनुसार पहिलो चरणमा पुराना र जीर्ण ८८ वटा प्याराफिट डोजर प्रयोग गरेर भत्काउने काम सुरु गरिएको छ। ती संरचनाहरू हटाइसकेपछि नयाँ प्याराफिट निर्माण गरिने योजना रहेको उनले बताए।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त बजेट निकासा भएपछि निर्माण कार्य अघि बढाइएको हो। अध्यक्ष कानुका अनुसार तत्कालीन कानुनमन्त्री अजय चौरसियाको पहलमा तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बजेटमा यो रकम व्यवस्था गरेका थिए।


हाल उपलब्ध रकमबाट प्रारम्भिक चरणका काम मात्र सम्पन्न गरिने जनाइएको छ। रंगशालाको पूर्ण मर्मत तथा स्तरोन्नतिका लागि भने थप बजेट आवश्यक पर्ने अध्यक्ष कानुले जानकारी दिएका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *