चैत तेस्रो सातादेखि संसद् बैठक



काठमाडौँ ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ चैत १२ गते दिउँसो २ बजे हुनेगरी मिति तोकेको छ। संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसँगको छलफलपछि सचिवालयले शपथको मिति र समय निर्धारण गरेको हो।
सचिवालयका अनुसार प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराउनेछन्। त्यसपछि ज्येष्ठ सदस्यले बाँकी २७४ जना नवनिर्वाचित सांसदलाई शपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ। ज्येष्ठ सदस्यको नाम भने नागरिकता प्रमाणपत्रका आधारमा उमेर गणना गरेर टुंगो लगाइने जनाइएको छ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम राष्ट्रपति र सङ्घीय संसद् सचिवालयलाई बुझाइसकेकाले अब संसद् सञ्चालनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। संविधानको व्यवस्था अनुसार नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै संसद्को बैठकमा सहभागी हुन पाउनेछन्।


चैत तेस्रो सातादेखि संसद् अधिवेशन


शपथग्रहणपछि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेको छ। संविधानको धारा ९३ अनुसार प्रतिनिधि सभाको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद्को अधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ। त्यसै अनुसार चैत १६ गतेतिर संसद्को पहिलो बैठक बस्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
संसद् बैठक सुरु भएपछि प्रधानमन्त्री नियुक्ति प्रक्रिया पनि अगाडि बढ्नेछ। संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।


सरकार गठन प्रक्रिया सुरु


नवनिर्वाचित प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ। शपथग्रहणलगत्तै रास्वपाले संसदीय दलको नेता चयन गर्ने र सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको छ।
संसद् बैठक सुरु भएसँगै नयाँ सरकार गठन, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनको प्रक्रिया तीव्र रूपमा अघि बढ्ने देखिएको छ। त्यसैले चैतको तेस्रो सातादेखि देशको राजनीति नयाँ चरणमा प्रवेश गर्ने निश्चित भएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *