सिंहदरबारभित्रको प्रदर्शनपछि पक्राउ परेका राप्रपा नेताहरू रिहा

Share on Social Media

काठमाडौं, वैशाख ७ — सिंहदरबार परिसरभित्र विरोध प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेताहरुलाई रिहा गरिएको छ।

जिल्ला प्रहरी परिसर भद्रकालीमा लगेर राखिएका उनीहरूलाई केही घण्टापछि रिहा गरिएको परिसरका प्रहरी प्रमुख (एसपी) अपील राज बोहराले जानकारी दिए।

रिहा गरिएकामध्ये अध्यक्ष लिङ्देनसँगै प्रमुख सचेतक ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूले सिंहदरबारभित्रै बिना अनुमति नारा जुलुस र प्रदर्शन गरेको भन्दै नियन्त्रणमा लिइएको थियो। त्यसपछि उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको थियो।

रिहा भएका नेताहरूले प्रहरीको कारबाहीप्रति असन्तुष्टि जनाउँदै आफूहरू संविधान प्रदत्त शान्तिपूर्ण प्रदर्शनको अधिकार प्रयोग गरिरहेको बेला अनावश्यक हस्तक्षेप गरिएको आरोप लगाएका छन्।

राप्रपाले यस घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेपको रूपमा व्याख्या गर्दै कडा विरोध जनाएको छ। पार्टीले विज्ञप्ति जारी गर्दै प्रहरीले देखाएको रवैयाको भर्त्सना गरेको छ र लोकतान्त्रिक अधिकारको रक्षाका लागि थप आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनी दिएको छ।

यस घटनाले राजधानीको राजनीतिक तापमान थप तातेको देखिन्छ। सुरक्षा व्यवस्था पनि थप सतर्क बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *