निर्वाचनमा आदेश नपर्खी परिचालित हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन


पोखरा ।

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनको समयमा सहयोगका लागि छुट्टै आदेश पर्खिरहन नपर्ने स्पष्ट निर्देशन दिएका छन्। गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेर निर्वाचन सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
निर्वाचन लोकतान्त्रिक व्यवस्थाको आधारस्तम्भ भएकाले यसको सुरक्षा व्यवस्थामा कुनै प्रकारको ढिलासुस्ती स्वीकार्य नहुने उल्लेख गर्दै महानिरीक्षक अर्यालले भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा जसरी सशस्त्र प्रहरी स्वतः परिचालित हुन्छ, त्यस्तै गरी निर्वाचनका बेला पनि आवश्यक परेको अवस्थामा तुरुन्त परिचालन हुनुपर्ने बताएका छन्।
उनका अनुसार निर्वाचन अवधिमा नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचनमा खटिएका कर्मचारीसँग घनिष्ठ समन्वय अपरिहार्य हुन्छ। “यदि कुनै मतदान केन्द्र, मतगणना स्थल वा संवेदनशील क्षेत्रमा सुरक्षाको आवश्यकता देखिन्छ भने आदेश कुरेर बस्नुपर्ने अवस्था हुँदैन। तत्काल परिचालित भई स्थिति नियन्त्रणमा लिनुहोस् र त्यसपछि मुख्यालयलाई जानकारी गराउनुहोस्,” उनले निर्देशन दिए।


महानिरीक्षक अर्यालले गण्डकी प्रदेशका पहाडी र हिमाली जिल्लामा भौगोलिक जटिलता, यातायातको पहुँच र सञ्चार सुविधाको अवस्थालाई ध्यानमा राख्दै पूर्वतयारी मजबुत बनाउन जोड दिएका छन्। संवेदनशील र अतिसंवेदनशील मतदान केन्द्रको पहिचान, जनशक्ति व्यवस्थापन, गस्ती परिचालन र आकस्मिक योजना तयारीलाई प्राथमिकतामा राख्न उनले सम्बन्धित गण तथा गुल्म प्रमुखलाई निर्देशन दिएका छन्।
उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। सीमा क्षेत्र, राजमार्ग, औद्योगिक क्षेत्र र महत्वपूर्ण संरचनाको सुरक्षामा विशेष निगरानी बढाउन पनि उनले आग्रह गरेका छन्। अवाञ्छित गतिविधि, भीड नियन्त्रण, मतपेटिका ढुवानी तथा मतगणना स्थलको सुरक्षामा उच्च सतर्कता अपनाउनुपर्ने उनले बताए।
अनुगमनका क्रममा प्रदेशस्थित सशस्त्र प्रहरी अधिकृतहरूले निर्वाचन लक्षित सुरक्षा तयारी, जनशक्ति परिचालन योजना, उपलब्ध स्रोतसाधन तथा चुनौतीबारे जानकारी गराएका थिए। केही दुर्गम क्षेत्रमा जनशक्ति र यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको जानकारी दिइएपछि आईजीपी अर्यालले आवश्यक समन्वयमार्फत समाधान खोजिने बताएका छन्।
महानिरीक्षक अर्यालले सुरक्षाकर्मीलाई राजनीतिक निष्पक्षता कायम राख्न र कुनै पनि दबाब वा प्रभावमा नपर्न पनि सचेत गराएका छन्। “हामी संविधान र कानुनप्रति उत्तरदायी छौं। नागरिकको मताधिकार सुरक्षित गर्नु हाम्रो प्रमुख दायित्व हो,” उनले भने।
निर्वाचन नजिकिँदै गर्दा सशस्त्र प्रहरीले देशभर उच्च सतर्कता अपनाएको छ। तालिम, मोक ड्रिल, उपकरण परीक्षण र समन्वय बैठकलाई तीव्र बनाइएको छ। आवश्यकता अनुसार द्रुत प्रतिकार टोली (क्यूआरटी) तयारी अवस्थामा राखिएको छ भने हवाई तथा स्थलमार्गबाट जनशक्ति परिचालनको योजना समेत तयार पारिएको बताइएको छ।
सशस्त्र प्रहरी बलले निर्वाचन अवधिभर २४ घण्टा निगरानी र सूचना संकलन प्रणाली सक्रिय राख्ने जनाएको छ। महानिरीक्षक अर्यालको निर्देशनसँगै निर्वाचन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र चुस्त बनाउने अपेक्षा गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *