भारतले पेट्रोलियम पदार्थको वितरणमा केही प्रतिबन्ध लगाउँदै घरेलु आपूर्तिलाई प्राथमिकता दिन निर्देशन दिएको छ। पश्चिम एसियामा जारी युद्ध र अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा देखिएको अस्थिरताका कारण ऊर्जा आपूर्तिमा असर पर्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।
भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले रिफाइनरीहरूलाई एलपीजी उत्पादन बढाउन र मुख्य रूपमा घरायसी प्रयोगका लागि आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ। खाना पकाउने ग्यासको अभाव हुन नदिन घरेलु उपभोक्तालाई पहिलो प्राथमिकता दिने नीति लागू गरिएको जनाइएको छ।

सरकारले प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको वितरणका लागि विभिन्न प्राथमिकता क्षेत्र पनि निर्धारण गरेको छ। घरेलु पाइप्ड ग्यास, यातायातका लागि प्रयोग हुने सीएनजी तथा एलपीजी उत्पादनलाई पहिलो प्राथमिकतामा राखिएको छ। त्यसपछि मल उद्योग, केही औद्योगिक क्षेत्र र अन्य व्यावसायिक प्रयोगकर्तालाई क्रमशः आपूर्ति गर्ने व्यवस्था गरिएको छ।
यस निर्णयका कारण होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक क्षेत्रमा प्रयोग हुने व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति केही स्थानमा घट्ने सम्भावना देखिएको छ। केही शहरमा व्यवसायिक एलपीजीको वितरण सीमित गरिएकाले व्यवसायीहरू चिन्तित भएका छन्।
अधिकारिहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अस्थिर बनेपछि देशभित्र ऊर्जा सुरक्षालाई कायम राख्न यस्तो नीति लागू गरिएको हो। साथै आवश्यक परे उत्पादन थप बढाउने र आपूर्ति व्यवस्थापन गर्ने तयारी पनि सरकारले जनाएको छ।