काठमाडौँ ।
प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा हात परेपछि कांग्रेस सभापति गगन थापामाथि पूर्वसभापति शेरबहादुर देउवा पक्षका केही नेताले नैतिकताको प्रश्न उठाइरहेका बेला देउवा र उनको समूहका केही शीर्ष नेतामाथि आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ । देउवाको राजनीतिक प्रभाव रहेको सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी अन्तर्घात भएको नेताहरू बताउँछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट नपाएपछि देउवा आफ्नै गृह जिल्ला डडेलधुरामा भोट हाल्न गएनन् । कांग्रेसका उम्मेदवारलाई जिताउन कुनै पनि माध्यमबाट उनले सन्देशसमेत प्रवाह गरेका थिएनन् । उनी १३ फागुनमै प्रमुख स्वकीय सचिव भानु देउवालाई लिएर सिंगापुर गएका थिए । उनी फर्किएका छैनन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणासमेत चुनावी प्रचारमा कतै गइनन् । औपचारिकताका लागि समेत कुनै माध्यमबाट भोट मागिनन् । राणा १० फागुनमै दिल्ली गएकी थिइन्, उनी अहिले पनि उतै छिन् । विगतमा देउवा दम्पतीले नै डडेलधुराको गन्यापधुरा मतदान केन्द्रबाट मत हाल्ने गर्थे र यस पटक पनि उनीहरूको नाम त्यहीँ थियो ।