२९ फागुन, काठमाडौं।
राष्ट्रिय मानव अधिकार आयोगले देशभरमा खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चाल्न सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। आयोगका सहप्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि हाल मध्यपूर्वमा उत्पन्न अन्तर्राष्ट्रिय परिस्थितिका कारण काठमाडौं उपत्यकामा एलपीजी ग्यासको अभाव देखिएको छ। यसले उपभोक्तामा चिन्ता र असहज स्थिति सिर्जना गरेको आयोगले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ कि आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेड लगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरूको अनुगमन र अवलोकन गरेको छ। अनुगमनको क्रममा आपूर्तिमा केही कमी भए तापनि, विभिन्न सञ्चारमाध्यमहरूमा ग्यासको समग्र आपूर्ति व्यवस्थामा समस्या भएको जस्तो सन्देश फैलिँदा उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गर्ने प्रवृत्ति बढेको आयोगले जनाएको छ।

आयोगले आपूर्ति व्यवस्थापनमा स्पष्टता ल्याउन, सचेतना अभियान सञ्चालन गर्न र उपभोक्तालाई अत्यावश्यक मात्रामा ग्यास प्रयोग गर्न प्रेरित गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। साथै, पेट्रोलियम पदार्थको प्रभावकारी व्यवस्थापन र आपूर्ति श्रृंखलामा पारदर्शिता सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्न आयोगले सुझाएको छ।