सुनसरी — कोशी मिडिया समिट पत्रकारिता, विज्ञापन बजार तथा सञ्चार उद्योगका विविध पक्ष समेट्दै १४ बुँदे ‘कोशी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। समिट इटहरी मा आयोजना गरिएको थियो।
नयन एड्भरटाइजिङ मिडिया प्रा.लि. को आयोजनामा तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र महासंघ सुनसरीको संयोजनमा समिट आयोजना गरिएको हो। कार्यक्रममा पत्रकारिता क्षेत्र, विज्ञापन बजार र सञ्चार उद्योगमा देखिएका चुनौती तथा सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।
जारी घोषणापत्रमा नेपाल सरकार अन्तर्गत संघीय, प्रदेश र स्थानीय तहले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रभावकारी कार्यान्वयनमा भूमिका सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ। पत्रकारमाथि हुने आक्रमण तथा धम्कीका घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न तथा पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ।

घोषणापत्रले सूचना विभागबाट वितरण हुने प्रेस पासलाई सहज बनाउने, त्यसको दुरुपयोग रोक्ने तथा सम्पादकीय स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ। मर्यादित पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल नेपाल को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइएको छ।
‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेसन’ बढ्दै गएको सन्दर्भमा पत्रकारहरूलाई जिम्मेवार र विश्वसनीय बन्न आग्रह गर्दै आचारसंहिताको पूर्णपालना र समयानुकूल परिमार्जन आवश्यक रहेको निष्कर्ष निकालिएको छ। सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भइरहेकाले यस विषयमा नयाँ बहस आवश्यक रहेको पनि समिटले औंल्याएको छ।
त्यस्तै, सामाजिक सञ्जाल, कन्टेन्ट क्रिएटर र पत्रकारबीचको भिन्नता स्पष्ट पार्न मिडिया साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ। सरकारी विज्ञापन वितरणलाई समानुपातिक र समावेशी बनाउन, संकटमा रहेका सञ्चारगृहलाई अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउन समेत माग गरिएको छ।
घोषणापत्रमा लोककल्याणकारी विज्ञापनमा कर छुट, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लगायत विषय समेटिएका छन्। साथै लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पेशागत संगठनहरूलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।