काठमाडौं — मध्यपूर्वमा जारी तनावबीच इरान ले पहिलोपटक प्रत्यक्ष रूपमा अमेरिकी प्रविधि कम्पनीको भौतिक पूर्वाधार र डाटा सेन्टरलाई निसाना बनाएको खबर सार्वजनिक भएको छ। यस घटनालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ प्रकारको साइबर–भौतिक युद्धको संकेतका रूपमा हेरिएको छ।
हमलापछि बहराइन र आसपासका क्षेत्रमा अस्तव्यस्त अवस्था सिर्जना भएको जनाइएको छ। Amazon का सर्भरहरू डाउन हुँदा ठूला कर्पोरेट नेटवर्क, स्थानीय बैंकिङ प्रणाली तथा एयरलाइन रिजर्भेसन प्रणाली एक्कासि प्रभावित भएका छन्।
यस घटनाको पुष्टि बहराइन गृह मन्त्रालय ले गर्दै ‘सिभिल डिफेन्स’ टोलीहरू आगो नियन्त्रणमा जुटेको जानकारी दिएको छ। यद्यपि, सुरक्षाका कारण हालसम्म कम्पनीको विस्तृत विवरण, क्षति तथा सम्भावित मानवीय हताहतबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
यसअघि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिका र इजरायल सँगको तनावका बीच अमेरिकी प्रविधि कम्पनीहरूलाई निसाना बनाउन सक्ने चेतावनी दिएको थियो। सो क्रममा Microsoft, Google र Apple जस्ता कम्पनीहरूलाई विशेष रूपमा सचेत गराइएको थियो।
यता, Amazon Web Services (एडब्लुएस) ले युद्धका कारण बहराइनमा आफ्ना सेवा गम्भीर रूपमा प्रभावित भएको स्वीकार गरेको छ। कम्पनीले जोखिम न्यूनीकरणका लागि आफ्नो क्लाउड ट्राफिक सुरक्षित देशहरूमा रहेका डाटा सेन्टरतर्फ स्थानान्तरण गरिरहेको जनाएको छ।
विश्लेषकहरूका अनुसार यस घटनाले आधुनिक युद्धको स्वरूप बदलिँदै गएको संकेत दिएको छ, जहाँ अब संघर्ष केवल भौगोलिक सीमामा मात्र सीमित नभई डिजिटल पूर्वाधारसमेत प्रत्यक्ष निशानामा पर्न थालेको छ।
इरानद्वारा अमेरिकी टेक पूर्वाधारमा पहिलो हमला, बहराइन क्षेत्रमा व्यापक असर