रेडक्रस सदस्यता फारम भर्ने भोलि अन्तिम दिन, दलहरू सक्रिय, विवादको सम्भावना, सुरक्षा सतर्कता आवश्यक

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीले देशभर सञ्चालन गरिरहेको सदस्यता वितरण अभियान अन्तर्गत धनुषा शाखामा पनि सदस्यता फारम वितरण जारी रहेको छ। साथै, देशभर अनलाइनमार्फत पनि सदस्यता लिन सकिने व्यवस्था मिलाइएको छ।
तर धनुषा शाखाअन्तर्गत सञ्चालनमा रहेका आँखा अस्पताल तथा शाखाको करोडौँ मूल्यको सम्पत्तिप्रति विभिन्न पक्षको चासो बढ्दै गएको देखिएको छ। यही सन्दर्भमा केही राजनीतिक दलका नेताहरूले आफ्ना कार्यकर्तालाई संगठित रूपमा सदस्य बनाउने प्रयास थालेको आरोप लागेको छ। उनीहरूले घर–घरमा पुगेर सदस्यता फारम भर्ने तथा एकमुष्ट रूपमा फारम बुझाउने योजना बनाएको स्रोतको दाबी छ।
तर रेडक्रसको प्रचलित नियमअनुसार सदस्यता लिन इच्छुक व्यक्तिले स्वयं उपस्थित भएर फारम लिनु तथा व्यक्तिगत रूपमा बुझाउनु पर्ने व्यवस्था छ। वैकल्पिक रूपमा अनलाइनमार्फत पनि सदस्यता लिन सकिन्छ।
राजनीतिक उद्देश्यसहित एकमुष्ट रूपमा सदस्यता दिलाउने कार्य भएमा रेडक्रस जस्तो मानवीय संस्थासमेत राजनीतिक अखडामा परिणत हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। साथै, यस्ता फारमहरूको जाँचबुझ प्रक्रियामा पनि विवाद उत्पन्न हुने सम्भावना औंल्याइएको छ।
स्थानीय सरोकारवालाहरूका अनुसार प्रत्येक व्यक्तिले छुट्टाछुट्टै रूपमा सदस्यता फारम भरी शुल्क बुझाएमा सबै इच्छुक व्यक्तिले सहज रूपमा सदस्यता प्राप्त गर्न सक्नेछन् र विवादको सम्भावना पनि न्यून हुनेछ। यसका लागि रेडक्रस धनुषा शाखा र स्थानीय प्रहरी प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्ने देखिन्छ।
भोलि अर्थात् चैत्र २४ गते सदस्यता फारम बुझाउने अन्तिम दिन भएकाले विशेष सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेको बताइएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै रेडक्रस धनुषाका सभापति नरेश प्रसाद सिंहले सदस्यता वितरण प्रक्रिया एक महिनादेखि निरन्तर रूपमा चलिरहेको जानकारी दिए। उनले सदस्यता लिन चाहने सबैलाई स्वयं उपस्थित भएर फारम बुझाउन आग्रह गर्दै कुनै पनि राजनीतिक दलबाट समूहगत दबाब सिर्जना गर्नु उपयुक्त नहुने बताए। उनले शान्तिपूर्ण र पारदर्शी रूपमा सदस्यता प्रक्रिया सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गरेका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *