निर्वाचनमा घृणाजन्य अभिव्यक्ति र गोपनीयता उल्लंघन बढ्दै : मानवअधिकार आयोग


काठमाडौँ — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा निर्वाचनको माहोलमा घृणाजन्य अभिव्यक्ति र मतदाता गोपनीयता उल्लंघनका घटना बढ्दै गएको मानवअधिकार आयोगले जनाएको छ ।
आयोगका अनुसार केही राजनीतिक दलका नेता तथा उम्मेदवारहरूबाट एक–अर्कामाथि अमर्यादित, विभाजनकारी र घृणास्पद भाषा प्रयोग भइरहेको छ । यस्ता अभिव्यक्तिहरू सार्वजनिक सभा, प्रचार सामग्री र सामाजिक सञ्जालमार्फत फैलिँदा निर्वाचन वातावरणमा नकारात्मक असर परेको आयोगको ठहर छ ।


डिजिटल माध्यमको प्रयोग बढेसँगै घृणाजन्य सामग्री छिटो फैलिने अवस्था देखिएको आयोगले जनाएको छ । यसले मतदाताको स्वतन्त्र निर्णय क्षमतामा असर पार्नुका साथै समाजमा तनाव र द्वन्द्वको जोखिम बढाउने सम्भावना रहेको उल्लेख गरिएको छ ।
अनुगमनका क्रममा कतिपय स्थानमा मतदाताको गोपनीय मताधिकार उल्लंघन गर्ने गतिविधि पनि फेला परेको आयोगले जनाएको छ । मतदान गर्ने क्रममा वा मतदानपछि कसलाई मत दिएको भन्ने विषयमा भिडियो, फोटो वा अडियो बनाई सामाजिक सञ्जालमा राख्ने प्रवृत्तिले मतदाताको निजी जीवन र अधिकारमा गम्भीर असर पार्ने आयोगको भनाइ छ ।
त्यसैगरी, निर्वाचनअघि नै जित–हार सुनिश्चित भएको जस्तो प्रचार सामग्री फैलाएर मतदातामा भ्रम सिर्जना गर्ने प्रयास पनि देखिएको आयोगले जनाएको छ । यस्तो अभ्यासले निष्पक्ष र स्वतन्त्र निर्वाचन प्रक्रियामाथि प्रश्न उठ्ने जोखिम रहेको उल्लेख गरिएको छ ।
मानवअधिकार आयोगले निर्वाचनलाई मानवअधिकारमैत्री, स्वतन्त्र र निष्पक्ष बनाउन सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ । आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न, घृणाजन्य अभिव्यक्ति रोक्न र मतदाताको गोपनीयताको सम्मान गर्न विशेष जोड दिएको छ ।
आयोगले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिँदै उल्लंघन देखिए आवश्यक सिफारिस र हस्तक्षेप गर्ने स्पष्ट पारेको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *