मिथिला मध्यमा परिक्रमामा हेल्पडेस्क सञ्चालन, हजारौं श्रद्धालु लाभान्वित

Share on Social Media

बोली समाचारदाता ।

मठियानी, जलेश्वर – धार्मिक आस्थाको प्रतिक मिथिला मध्यमा परिक्रमालाई सहज बनाउन नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल, धनुषाले संयुक्त रूपमा हेल्पडेस्क सञ्चालन गरेका छन्। यस सेवाबाट हजारौं श्रद्धालुहरूले लाभ लिएका छन्।

हजारौं तीर्थयात्रीलाई सेवा

हेल्पडेस्कमार्फत २,००० भन्दा बढी श्रद्धालुहरूले औषधि प्राप्त गरेका छन्, भने ३०० भन्दा बढी हराएका व्यक्तिहरूको खोजीका लागि माइकिङ गरिएको छ। साथै, पानी तथा चिया वितरणसँगै यात्रालाई व्यवस्थित बनाउन सयौं तीर्थयात्रीहरूलाई मार्गदर्शन गरिएको छ।

महत्वपूर्ण उपस्थिति

हेल्पडेस्कको उद्घाटन कार्यक्रममा नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा, कार्यक्रम संयोजक दिपक यादव, राष्ट्रिय मुक्ति पार्टीका नेता बिनोद कुमार ठाकुर, क्लोथ बैंक नेपालका धनेश्वर ठाकुर, कृष्ण कुमार साह, र मधुबनी प्रतिनिधि विपिन झा प्रमुख रूपमा उपस्थित थिए।

कार्यक्रममा डा. राजीव झाले मिथिला मध्यमा परिक्रमाको ऐतिहासिक महत्व, नेपाल-भारत सम्बन्ध, खुला सीमाको आवश्यकताबारे प्रकाश पारे।

अन्य स्थानहरूमा पनि निरन्तर सेवा

परिक्रमाका क्रममा श्रद्धालुहरूको सुविधाका लागि मडै, ध्रुबकुण्ड, कंचनबन, पर्बता, धनुषाधाम, औरही लगायतका विभिन्न बासस्थानहरूमा पनि हेल्पडेस्क निरन्तर सञ्चालन हुने संयोजक धनेश्वर ठाकुरले जानकारी दिए।

यात्रा सहज बनाउन स्वास्थ्य, खोजतलास, पानी वितरण, तथा मार्गदर्शन जस्ता सेवा उपलब्ध गराउँदै हेल्पडेस्कले श्रद्धालुहरूको यात्रालाई व्यवस्थित बनाउने प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *