काठमाडौँ — गगन कुमार थापा ले दिएको राजीनामा नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिले अस्वीकार गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा मार्फत पार्टीलाई बुझाएका थिए।
आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी अधिकांश पदाधिकारी तथा सदस्यहरूले अहिलेको अवस्थामा सभापतिले राजीनामा दिनु उपयुक्त नहुने धारणा राखेका थिए। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले नेतृत्व परिवर्तन गर्दा पार्टी अझ अस्थिर बन्ने र कार्यकर्ताको मनोबल कमजोर हुने निष्कर्ष निकालेका हुन्। दुई दिनसम्म चलेको छलफलपछि केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपमा थापाको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो।
थापाले आफ्नो राजीनामापत्रमा पार्टीभित्र परिवर्तनको प्रयास सुरु भए पनि त्यो सन्देश आम मतदातासम्म प्रभावकारी रूपमा पुग्न नसकेको उल्लेख गरेका थिए। उनले पार्टी र आफैंले पनि निर्वाचनमा हार बेहोरेकाले नैतिक जिम्मेवारी लिनुपर्ने ठानेर राजीनामा दिएको बताएका थिए। तर केन्द्रीय कार्यसमितिले निर्वाचनमा हार हुनुमा सभापतिभन्दा पनि संरचनागत समस्या, गुटगत राजनीति र परिस्थितिजन्य कारणहरू जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।
बैठकले राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अन्योल र अस्थिरता बढ्ने, कार्यकर्ताको मनोबल घट्ने र हाल सुरु गरिएको सुधार अभियान प्रभावित हुने ठहर गरेको छ। पार्टीले नेतृत्व परिवर्तनभन्दा अहिले स्थिरतालाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ। त्यसैले नैतिक आधारमा दिइएको राजीनामालाई सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त भएको कांग्रेसको भनाइ छ।

राजीनामा अस्वीकार भएसँगै गगन थापा फेरि सभापतिकै भूमिकामा सक्रिय भएका छन्। अब पार्टीभित्र निर्वाचनको हारको समीक्षा गर्ने, संगठनलाई पुनः सक्रिय बनाउने र आगामी महाधिवेशनतर्फ तयारी गर्ने विषयमा छलफल अघि बढ्ने संकेत देखिएको छ। कांग्रेसभित्र देउवा पक्षले पनि छुट्टै बैठक बोलाएर निर्वाचनको समीक्षा गर्ने तयारी गरिरहेको बताइएको छ, जसले पार्टीभित्रको आन्तरिक बहस अझै जारी रहेको देखाउँछ।
थापाको राजीनामा अस्वीकार हुनु अहिलेको अवस्थामा कांग्रेसले नेतृत्व परिवर्तनभन्दा संगठन बचाउने रणनीति रोजेको संकेतका रूपमा हेरिएको छ। अब पार्टीभित्र सुधारको प्रक्रिया कसरी अघि बढ्छ र आगामी राजनीतिक परिस्थितिमा कांग्रेस कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।