जनकपुरधाम, वैशाख १९ गते ।
नेपालमा सहकारी क्षेत्र सामाजिक-आर्थिक रुपान्तरणको एक महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी मधेस प्रदेशमा सहकारी संस्थाहरुले गरिबी निवारण, बेरोजगारीको समस्या समाधान तथा आर्थिक सशक्तिकरणमा उल्लेखनीय योगदान दिँदै आएका छन्। यद्यपि, बदलिँदो समयसँगै सहकारी संस्थाहरूले आफूलाई आधुनिक प्रविधिसँग समायोजन गर्नु आवश्यक देखिएको छ।

यसै सन्दर्भमा, जनकपुरधाममा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा सहकारी संस्थाहरूमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै सफ्टवेयर प्रणालीको प्रयोगबाट हासिल हुने उपलब्धिहरूको बारेमा जानकारी दिइयो। कार्यक्रममा मधेस प्रदेशभरिका करिब १०० भन्दा बढी सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक सहकारी विज्ञ किरण पौडेलले सफ्टवेयर प्रणालीमार्फत सहकारी व्यवस्थापनलाई पारदर्शी, छरितो र प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरे। उनले सहकारी ऐन तथा नियमावली अनुसारको अभिलेख संकलन, राष्ट्रिय बैंकको निर्देशन पालना, र रिपोर्टिङ प्रणालीमा सुधार ल्याउन सफ्टवेयरले कस्तो भूमिका खेल्न सक्छ भन्ने व्यावहारिक पक्षमा केन्द्रित रहेर प्रशिक्षण दिए।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका संचालक नथुनी यादवले सहकारीमा सुशासन, पारदर्शिता र उत्तरदायित्वको संस्कृति विकास गर्न कानुनी संरचनाको पूर्ण पालना आवश्यक रहेको बताए। उनले सहकारीप्रति विद्यमान नकारात्मक धारणा हटाउन संस्थागत सुधार, सूचना प्रवाहको पारदर्शिता र जनउत्तरदायी प्रविधिको प्रयोगलाई जोड दिनुपर्ने बताए।
सहकारी रजिस्ट्रार कार्यालय, मधेस प्रदेशका अधिकृत वाशुदेव भट्टले प्रविधिको प्रयोगले सहकारीको आन्तरिक कार्य प्रणालीमा पार्ने सकारात्मक प्रभावबारे प्रस्ट पारे। विशेषगरी हिसाब-किताब, बचत तथा ऋण व्यवस्थापन, रिपोर्टिङ प्रक्रिया, अनुगमन तथा मूल्यांकन प्रणालीमा सफ्टवेयरले सहजीकरण गर्ने स्पष्ट पारे।
कार्यक्रममा अन्य वक्ताहरु—समाजसेवी कृष्ण दीक्षित, स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक विनोद थापा, तथा राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनगिना राउतले सहकारीका चुनौतीहरू, समाधानका उपाय र भविष्यका सम्भावनाहरू प्रस्तुत गरे। अध्यक्ष राउतले तेस्रो मुलुकबाट आउने वैदेशिक आम्दानीलाई सहकारी प्रणालीमा ल्याउने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रम जिनव आइ एन सि को आयोजनामा सम्पन्न भएको थियो, जसले सहकारी क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्न सकृय भूमिका खेल्दै आएको छ।

सहकारी संस्थाहरुले देशको आर्थिक रुपान्तरणमा ठूलो सम्भावना बोकेका छन्। तर, ती सम्भावनालाई साकार पार्न सूचना प्रविधिको अंगीकार अनिवार्य छ। जनकपुरधाममा सम्पन्न अन्तरक्रिया कार्यक्रमले स्पष्ट पारेको छ—अब सहकारी संस्थाले परम्परागत ढाँचाबाट बाहिर निस्केर डिजिटल युगमा कदम चाल्नुपर्छ।