विराटनगरमा विज्ञान भवन निर्माणदेखि डुवान नियन्त्रणसम्मका एजेन्डा प्रस्तुत


विराटनगर

शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसअन्तर्गत निर्माण गरिएको विज्ञान भवन आफ्नै पहलमा सम्पन्न भएको दाबी गरेका छन्। मोरङ क्षेत्र नं. ६ का उम्मेदवारसमेत रहेका उनले विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पाँच करोड रुपैयाँ बजेट आफ्नो पहलमा ल्याएर सोही रकमबाट विज्ञान भवन निर्माण गरिएको बताए।
उनका अनुसार शैक्षिक पूर्वाधार सुदृढीकरण आफ्नो प्राथमिकतामध्ये एक हो। “मोरङ कलेजभित्र छुट्टै विज्ञान क्याम्पस देख्नुभएको छ, त्यो कसले बनायो? मैले पहल गरेर ५ करोड रुपैयाँको योजना ल्याएर बनाएको हुँ,” उनले भने। आफू अध्ययनरत रहेको समयको तुलनामा अहिलेको अवस्थालाई उल्लेख गर्दै उनले समयअनुसार परिवर्तन र विकास अपरिहार्य भएको बताए।
कोइरालाले महेन्द्र मोरङ क्याम्पसमा थप प्रयोगशाला, आधुनिक उपकरण र आवश्यक स्रोत–साधन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भौतिक संरचनासँगै शैक्षिक वातावरण सुधार आवश्यक रहेको उनको धारणा थियो।


निर्वाचन सन्दर्भमा उनले नेपाली कांग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गरे। आफूले अघि बढाएका विकास निर्माणका कामलाई निरन्तरता दिन जनताको साथ अपरिहार्य रहेको उनले बताए। “विकासका काम एक्लैले सम्भव हुँदैनन्। वडा, नगर, प्रदेश र संघबीच समन्वय आवश्यक हुन्छ,” उनले भने, “राजनीतिक स्थिरता र सक्षम नेतृत्वले मात्र दिगो विकास सम्भव बनाउँछ।”
उनले अर्को प्रमुख एजेन्डाका रूपमा विराटनगर–१२ लाई डुवानमुक्त बनाउने प्रतिबद्धता दोहोर्‍याए। वर्षायाममा केसलिया खोलाका कारण स्थानीयवासीले भोग्दै आएको समस्या समाधान गर्न सुदृढ तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने उनले बताए। “केसलिया खोलाले यहाँका बासिन्दालाई वर्षेनी दुःख दिँदै आएको छ,” उनले भने, “स्थायी समाधानका लागि प्रभावकारी तटबन्धन निर्माण अपरिहार्य छ।”
विराटनगर–१२ ठूलो र सम्भावनायुक्त वडा भएकाले सडक, पुल–पुलेसा, ढल निकास तथा अन्य आधारभूत पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने उनले उल्लेख गरे। स्थानीय तह, प्रदेश र संघीय सरकारबीच सहकार्य र समन्वयबाट मात्र योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने उनको भनाइ थियो।
यसैबीच नेपाली कांग्रेस विराटनगर–१२ ले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ। सभापति यादव नेतृत्वको टोलीले विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट र छलफल गरिरहेको छ।
चुनावी माहोल तात्दै जाँदा विराटनगर–१२ मा विकास, शैक्षिक पूर्वाधार विस्तार र डुवान नियन्त्रण मुख्य मुद्दाका रूपमा देखिएका छन्। विज्ञान भवन निर्माणसम्बन्धी दाबी र डुवानमुक्त नगर बनाउने प्रतिबद्धताले स्थानीय राजनीतिक वातावरण थप चासोपूर्ण बनेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *