सुर्खेत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित बृहत् चुनावी सभामाझ पार्टीले औपचारिक रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।
चुनावी सभामा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डोलप्रसाद अर्याल तथा नेता स्वर्णिम वाग्ले लगायतका शीर्ष नेताहरूले संयुक्त रूपमा वाचापत्र सार्वजनिक गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले वाचापत्र केवल घोषणापत्र नभई कार्यान्वयनको स्पष्ट मार्गचित्र भएको दाबी गरे।

रास्वपाले आफ्नो वाचापत्रमा मध्यम वर्गलाई नीतिगत केन्द्रमा राखेको जनाएको छ। रोजगारी सृजना, कर प्रणालीमा सुधार, साना तथा मझौला व्यवसायलाई प्रोत्साहन, शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार तथा सरकारी सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताइएको छ।
पार्टीले राज्य संयन्त्रलाई छरितो, प्रविधिमैत्री र जवाफदेही बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चमा अनुशासन, तथा सेवा प्रवाहमा समयसीमा निर्धारण गरी नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउने योजना वाचापत्रमा समेटिएको जनाइएको छ।
सभामा बोल्दै नेताहरूले कर्णाली प्रदेशको पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार, शिक्षा गुणस्तर सुधार र युवाका लागि रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिने बताएका थिए। उनीहरूले परम्परागत राजनीति भन्दा फरक ढंगले परिणाममुखी काम गर्ने दाबी पनि गरे।
रास्वपाले वाचापत्रमार्फत आर्थिक स्थायित्व, सुशासन र सामाजिक न्यायलाई सँगै अघि बढाउने लक्ष्य लिएको स्पष्ट पारेको छ। आगामी निर्वाचनमा मतदाताको विश्वास जित्दै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पार्टी नेतृत्वले व्यक्त गरेको छ ।