रास्वपाले सरकारको नेतृत्व पाए संविधान संशोधन सम्बन्धी ‘बहस पत्र’ गर्ने घोषणा

सुर्खेत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए संविधान संशोधनसम्बन्धी प्रस्तावहरूबारे ‘बहस पत्र’ तयार गर्ने घोषणा गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको पार्टीको चुनावी वाचापत्रमा यस्तो प्रतिबद्धता उल्लेख गरिएको हो।
वाचापत्रअनुसार रास्वपाले सरकार सम्हालेको तीन महिनाभित्र संविधान संशोधनका सम्भावित प्रस्तावहरू समेटिएको ‘बहस पत्र’ सार्वजनिक गर्नेछ। उक्त बहस पत्र राष्ट्रिय सहमति कायम गर्ने उद्देश्यले तयार गरिने जनाइएको छ।


‘सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे बहस पत्र तयार गर्नेछौं,’ वाचापत्रमा उल्लेख छ। पार्टीले संविधान संशोधनलाई एकपक्षीय निर्णयको रूपमा अघि नबढाई राजनीतिक दलहरू, नागरिक समाज, विज्ञ र सरोकारवालासँग व्यापक परामर्श गरी सहमतिमै टुंगोमा पुर्‍याउने जनाएको छ।
रास्वपाले वर्तमान संवैधानिक व्यवस्थाका अभ्यासका क्रममा देखिएका जटिलता, संघीय संरचनाको कार्यान्वयन, शासन प्रणालीको प्रभावकारिता तथा जनप्रतिनिधिको उत्तरदायित्वका विषयमा खुला बहस आवश्यक रहेको औंल्याएको छ। बहस पत्रमार्फत संशोधनका सम्भावित विषय, औचित्य र विकल्पहरू सार्वजनिक गरिने र त्यसपछि राष्ट्रिय स्तरमा छलफल अगाडि बढाइने योजना पार्टीले प्रस्तुत गरेको छ।
पार्टीका नेताहरूले संविधानलाई गतिशील दस्तावेजका रूपमा व्याख्या गर्दै समयानुकूल सुधार आवश्यक हुन सक्ने धारणा राखेका छन्। उनीहरूले राष्ट्रिय सहमति र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिँदै मात्र संशोधनको प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन्।
रास्वपाको यस घोषणाले आगामी निर्वाचनपछि सम्भावित संवैधानिक बहसलाई नयाँ आयाम दिने संकेत गरेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *