विधान संशोधन गरी बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने तयारीमा रास्वपा


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। संसदीय दलको नेता चयन भएपछि उनलाई प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुल्ने बताइएको छ।
पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको विधान संशोधन गर्ने तयारी गरिएको हो। रास्वपाको विधान, २०७९ को धारा ६६ मा रहेको संसदीय दलका नेताको निर्वाचनसम्बन्धी व्यवस्था परिवर्तन गरिने बताइएको छ। २०७९ मा पनि उक्त व्यवस्था कार्यान्वयनमा नआएको र आगामी दिनमा पनि व्यवहारिक रूपमा लागू गर्न कठिन देखिएकाले पार्टी संशोधनतर्फ अघि बढेको नेताहरूले बताएका छन्।


२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेकाले संसदीय दलको नेता चयन भएपछि शाहलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना रहेको छ।
रास्वपाका नेताहरूका अनुसार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच समानुपातिक सांसद चयन, विधान संशोधन तथा सरकार गठनलगायत विषयमा निरन्तर छलफल भइरहेको छ।
निर्वाचनपछि अस्वस्थ भएका लामिछाने हाल आराम गरिरहेका छन्। उनको सचिवालयका अनुसार उनी बिहीबार फलोअपका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए। चिकित्सकले बेड रेस्टको सल्लाह दिए पनि उनले सरकार गठन र पार्टीका अन्य महत्वपूर्ण विषयमा वरिष्ठ नेता शाहसहित नेताहरूसँग निरन्तर छलफल गरिरहेको सचिवालयका एक सदस्यले बताएका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *