दाउन्ने सडकखण्डमा भीषण दुर्घटना : तीन जनाको मृत्यु, १५ जना घाइते


नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको हो। ट्रकको ठक्करपछि बस सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक जनाको मात्रै पहिचान खुलेको छ। मृतक रोल्पाको बागमारा निवासी करिब २५ वर्षीय गोबिन बुढा रहेको प्रहरीले जनाएको छ। अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालमा पठाइएको छ। मृतकहरूको शव जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
बस काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको बताइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *