ओली पक्राउको विरोधमा एमालेका चार कार्यक्रम प्रदर्शनदेखि राजनीतिक सहकार्यसम्मको योजना



काठमाडौं — नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्षका चार कार्यक्रम घोषणा गरेको छ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय र नागरिक समाजलाई साथ लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतले बैठकपछि उक्त निर्णयबारे जानकारी दिएका छन्।
बैठकले देशभर चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। पहिलो कार्यक्रमअन्तर्गत शनिबार नै प्रत्येक जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी दोस्रो कार्यक्रमअन्तर्गत आइतबार चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
तेस्रो कार्यक्रमका रूपमा ओली पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै कानुनी रूपमा पनि प्रतिवाद गर्ने निर्णय गरिएको छ। चौथो कार्यक्रमअन्तर्गत लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दलसँग संवाद र सहकार्य गर्ने, नागरिक समाज तथा आम जनसमुदायलाई समेत साथमा लिएर आन्दोलन अगाडि बढाउने निर्णय गरिएको सचिव बस्नेतले बताएका छन्।
ओली पक्राउपछि देशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको बेला एमालेले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो। पार्टीले देशव्यापी रूपमा आन्दोलनलाई अझ सशक्त बनाउने संकेत पनि दिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *