अध्यक्ष ओलीद्वारा हुलाकी राजमार्ग र गौरीगञ्ज बजारको अवलोकन, मतदातासँग प्रत्यक्ष संवाद

झापा माघ २६ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले आज हुलाकी राजमार्ग र गौरीगञ्ज बजार क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। चुनावी अभियानका क्रममा गृह जिल्ला झापा आइपुगेका ओलीले सडक र बजारको अवस्था बुझ्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।
अवलोकनका क्रममा अध्यक्ष ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा र गौरीगाडाँगी लगायतका विभिन्न बस्तीमा पुगेर स्थानीयवासीका अपेक्षा, समस्या र गुनासो सुनेका थिए। उनले हुलाकी राजमार्गको निर्माण, विस्तार र व्यवस्थापनसँगै बजार क्षेत्रको समग्र विकासबारे चासो व्यक्त गर्दै आगामी दिनमा अघि बढाइने योजनाबारे जानकारी गराए।


स्थानीयवासीसँगको संवादमा अध्यक्ष ओलीले विकास, रोजगारी, कृषि, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मतदाताले उठाएका सडक, खानेपानी, सिँचाइ र बजार व्यवस्थापनसम्बन्धी विषयलाई योजनाबद्ध रूपमा समाधान गर्ने उनको भनाइ थियो।
शुक्रबारदेखि नै आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित हुँदै अध्यक्ष ओलीले निरन्तर जनसम्पर्कलाई तीव्र बनाएका छन्। प्रचारप्रसार समितिका संयोजक देवेन्द्र दाहाल का अनुसार, स्थानीय मतदाताले यस क्षेत्रको विकासका लागि अध्यक्ष ओलीले विगतमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै पुनः विजयी भई बाँकी विकासका काम पूरा गर्न आग्रह गरेका छन्।
चुनावी अभियानका क्रममा अध्यक्ष ओलीले आगामी दिनमा हुलाकी राजमार्ग आसपासका बस्तीको आर्थिक गतिविधि सशक्त बनाउने, बजार विस्तार गर्ने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति अघि सार्ने बताएका छन्। उनको स्थलगत अवलोकन र जनसंवादलाई स्थानीयले चासोका साथ लिएका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *